दुर्घटनामा आफन्तको मृत्यु भएको विषयले दिक्तेल–जयराम सडक अवरुद्ध

जेठ–२८, जीपको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर खोटाङको च्यास्मीटारका स्थानीयले दिक्तेल–जयराम सडक अवरुद्ध बनाएका छन् ।
दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको ग १ ज ३३६३ नम्बरको जीपको ठक्करबाट च्यास्मीटार–२ का ६ वर्षीय युवराज अधिकारीको मृत्यु भएको बिरोधमा स्थानीयले सडक अवरुद्ध बनाएका हुन् ।

बोझेओढार प्रावि बडहरेमा कक्षा–१ मा अध्ययनरत छात्र अधिकारीको जीपको ठक्करबाट सोमबार मृत्यु भएको थियो । मृतक बालकका आफन्तले मंगलबार बिहानदेखि दिक्तेल–जयराम सडक खण्ड अवरुद्ध बनाएको स्थानीय रसकुमार राईले बताउनुभयो । 

मृतकका आफन्तले दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतीपुर्तीको माग गर्दै सडक ठप्प बनाएका हुन् । विद्यालयबाट घर फर्कनेक्रममा जीपको ठक्कबाट गम्भीर घाइते भएका अधिकारीको उपचारका लागि उदयपुरको कटारीतर्फ लैजानेक्रममा लेखानीमा मृत्यु भएको थियो । मृतक बालकको शवलाई गाउँमा नल्याएसम्म सडक अवरोध नहटाउने आफन्तको भनाइ छ । मृतकका आफन्तको अवरोधका कारण दिक्तेलबाट राजधानीतर्फ जाने बिरामी तथा यात्रु मारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नीरिक्षक रमेशकुमार देबले भने सडक अवरोध हटाइएको बताउनुभयो । 

यसैवीच,  ट्याक्टरबाट लडेर खोटाङका एक बृद्धको मृत्यु भएको छ । दोर्पाचिउरीडाँडाबाट सामान बोकेर दिक्तेलतर्फ जाँदै गरेको को १ त ८३०३ नम्बरको ट्याक्टरबाट लडेर नेर्पा–१ का ६६ वर्षीय जगप्रसाद राईको मृत्यु भएको हो । दिक्तेल नगरपालिका–५ स्थित सोल्मा भन्ने ठाउँमा ट्याक्टरबाट खसेरका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तको जिम्मा लगाइएको छ ।

साभार: हाम्रो खोटाङ डटकम

प्रकाशित मिति: Wednesday, June 11, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।