साकेन्वा/साकेला उभौली पर्व समापन

असार–१, प्रकृति अर्थात् भूमिपुजक किराती राईहरुको महान पर्व साकेला उभौली समापन गरिएको छ । किराती राईहरुको घनाबस्ती रहेको माझ किरात खोटाङमा शनिबार साकेला शिली प्रदर्शन गर्दै उभौली पर्व विधिवत रुपमा समापन गरिएको हो । 

वर्षमा दुई पटक मनाइने यो पर्वमा खेतिपाती सप्रियोस, रोगव्याधी नलागोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भुमि पूजा गरी ढोल र झ्याम्टाको तालमा एक महिनासम्म धुमधामका साथ साकेला शिली प्रदर्शन गर्ने प्रचलन छ । नजिकका भुमेस्थान, ऐतिहासिक गढी तथा किरात संस्कार संस्कृतिसँग सम्बन्धित ऐतिहासिक स्थलहरुमा केटाकेटी युवायुवती, वृद्घवृद्घा मौलिक भेषभुषामा एक जुट भएर गोलो घेरामा साकेला नाच्ने  गरिन्छ ।

छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषमा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाउने यो पर्वमा किरात मात्र नभएर गैरकिरातहरु समेत सामेल हुने  गर्दछन् । जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्धलाई निरुत्साहित गर्न भुमिका खेल्ने किरात सेवा समाज खोटाङका सचिव सुरेश राईले बताउनुभयो । 

अन्नबाली लगाउने समय अर्थात बैशाखे पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मंसिरे पुर्णीमादेखि उधौली पर्व मनाउने चलन छ । चराचुरुङगी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो पर्वमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःख सुखका कुरा गर्ने पर्वका रुपमा पनि लिइन्छ । 

सबै समुदायको अतिथिहरुले एकै साथ साकेला शिली नाचेर उद्घाटन गरेको  समापन कार्यक्रममा जिल्लाका दिक्तेल, लफ्याङ, बाम्राङ, खाल्ले, नेर्पा, दोर्पा, बाँझेच्यानडाँडा, याम्खा, अर्खौले, खार्मी लगायतका १७ समुहले आ–आफ्नो ठाउँमा नाचिने साकेला शिली प्रदर्शन गरेका थिए । पाँच हजार बढिको उपस्थिति रहेको प्रदर्शनीमा मछामा, चावा, आम्लामी, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको थियो । 

बुढापाका अन्त्यसँगै लोप हुँदै गएको शिली संरक्षणमा सबैको ध्यानाकर्षणका लागि बृहत कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खाका जिल्ला अध्यक्ष प्रश्नराज राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अर्कातर्फ संस्कृतिमार्फत आपसी सदभाव र बन्धुत्व कायम गर्नमा पनि यसले सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।’ 

किरात राई यायोख्खा र किरात सेवा समाज खोटाङको संयुक्त आयोजनामा गरिएको समापन कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला न्यायधिस, प्रजिअ लगायत सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न जातजातिका अगुवाहरुले शिली प्रदर्शन गरेर उद्घाटन गरेका थिए । 

साभार: हाम्रोखोटाङ डटकम ।

प्रकाशित मिति: Sunday, June 15, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।