सांस्कृतिक कानुनले चेपिएको किराती चाड– ढ्वाङ्कुमो
- गणेश राई, कुम्भराज राई, काठमाडौं ।
२०७२ भाद्र १४ । सांस्कृतिक कानुनले चेपिएको किराती चाड हो– ढ्वाङ्कुमो । यसमा मुन्धुम फलाकेर परम्परालाई पुकारिन्छ । मुन्धुमी नाक्सो (कुलपुजारी) फलाक्छन्– ‘लिब्जु उपो (बाजे) उहिले त्यस्तो थिएन । हामीले माले गोरु काटेर बलि दिन्थ्यौं । राजा, काजी र हिन्दु धर्म आएपछि राँगाको बलि दिंदै आएका छौं । लिब्जु बाजे नसराप्नू । हाम्रो फलिफाप गर्नू । हामीलाई आशीर्वाद दिनू ।’
लिखित कानुन नहुँदा समाज परम्परा र संस्कारले चल्थ्यो । त्यसैको जीवन्त उदाहरण हो– ढ्वाङकुमो । वल्लो किरात प्रदेश अर्थात् ओखलढुंगाको दक्षिणी भेगका वाम्बुले राईहरूले यो परम्परा धानिरहेका छन् । यो उनीहरूको महान् चाड हो । हिन्दुहरू जनैपूर्णिमा र किरातीहरू ढ्वाङ्कुमो चाड (ढ्वाङ्कुम पनि भनिन्छ) एकै दिन मनाइन्छ, फरक–फरक मान्यताका साथ ।
ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम् थलो मानिन्छ । यही थलोमा सामूहिक भेला भएर ढ्वाङकुमो मनाउँछन् उनीहरू । मुन्धुमी नाक्सोहरूले पूजाआजा र विभिन्न सांस्कृतिक नाचगान गर्छन् । यो चाड प्रकृति र संस्कृतिको सम्मिश्रण हो । समुद्र सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पुजिन्छ ।
किरातीहरू आफूलाई प्रकृति र पितृका पूजक मान्दछन् । ढ्वाङ्कुम परम्परा कति पुरानो हो लिखित प्रमाण छैन । चाडमा भेला भएर हेर्दा सामान्य लाग्छ । ढ्वाङकुमटारमा सयौं थुन्से, सोलीहरूको लस्कर रास (चाङ) लगाइन्छ । प्रत्येक घरबाट थुन्सेमा जाँड, कागुनोको भात, मकैको झुत्ता आदि लिएर आइपुग्छन् । यसरी सामूहिक चाडमा जो जुट्दैन उसलाई समाजले बहिष्कार (असहयोग) गर्न सक्छ ।
किंवदन्तीअनुसार यो संस्कार सेन मुगल राजाको पालादेखि सुरु भएको मानिन्छ । शताब्दीअघिसम्म ‘मालेगोरु’ काटेर पूजा गरिन्थ्यो । १९१० मा मुलुकी ऐन लागू भएपछि गोरु काट्न प्रतिबन्ध लाग्यो । त्यसपछि भने राँगा काट्न थालियो । यसमा अन्य सिकारी देवताहरू पनि पुजिन्छ ।
ढ्वाङ्कुममा चारजना प्रमुख नाक्सोको भूमिका अपरिहार्य रहन्छ । उनीहरूलाई सिसी नाक्सो, बुलु नाक्सो, ढ्वाङ्कुर्मो नाक्सा र काउर्मो नाक्सो भनिन्छ । चारैजनाको काम मुन्धुम फलाक्ने हो । तर भूमिका फरक फरक हुन्छ । सिसीले चारचौरासको प्रकृति पुकार्दै भूमि बाँध्छन् । बुलुले पितृहरू सामूहिक रूपमा बोलाउँछन् । ढ्वाङ्कुर्मोले जिमी भूमिलाई मनाउँदै आकाश, पाताल, पाखापर्वत, वनजंगलको पूजा गर्दछन् । काउर्मोले नदीनाला, बोटबिरुवा, सिकारी बेखारी पुकार्दै समृद्धिको कामना गर्दछन् ।
चार प्रमुख नाक्सोका साथै कारबारी, गौरुङ र थरीलगायत पदवी लिएका समाजका व्यक्तिले दिएको निर्देशनबमोजिम यो चाड मनाउने गरिएको पाइन्छ । अघोषित रूपमा ती पदवी विद्यमान छ ।
राँगा र कुखुरा बलि दिँदै नयाँ अन्नबाली चढाउनु र ढ्वाङकुमटार घुमेर नाचगान गर्नु यसको विशेषता हो । प्रत्येक घरले थुन्सेमा कागुनीको भात र राँगाको मासु बोकेर पुर्याउनुपर्छ । पूजा दुई दिनसम्म रहन्छ । त्यतिन्जेल गाउँका जोसुकैले खेतबारीमा पसेर कृषिकर्म गर्न नपाउने चलन छ । सबैले चाड मनाउनैपर्दछ । ढ्वाङकुममा नयाँ अन्नबाली चढाएर पूजा गरेपछि वर्षभरि दु:खबिमार नलाग्ने र शान्ति समृद्धि हुने विश्वास गरिन्छ ।
यो पुरानो संस्कार आधुनिकीकरणसँगै लोप हुने हो कि भनेर पिरिएका छन् अगुवाहरू । त्यसैले यो संस्कार जोगाउन संस्थागत पहल भइरहेको वाम्बुले राई समाजका जिल्ला अध्यक्ष महाजित राई बताउँछन् ।
ढ्वाङकुमो चाडमा यस भेगका अन्य जातजाति पनि उत्तिकै सहभागी भएर मनाउँछन् । यसले एउटा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गरेको उँबु–४ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक रमेशकुमार अधिकारी बताउँछन् ।
उहिले–उहिले किराती वाम्बुले समुदायले एकै ठाउँ ढ्वाङकुमटारमा भेला भएर पूजा गर्थे । अहिले उनीहरूको जनसंख्या १३ हजार ४ सय ७० छ । ओखलढुंगाको उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, थाक्ले गाविसमा यो पूजा गरिन्छ । खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार, उदयपुरको कटारी, सुनसरीको धरान, काठमाडौं उपत्यकाको इमाडोल र बेलायतमा समेत यस अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान गरिन्छ ।
साभार : कान्तिपुर (काेसेली)
प्रकाशित: भाद्र १२, २०७२
प्रकाशित मिति:
Monday, August 31, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।