विवश परदेशी जीवन (कविता)

ऋतुहरु फेरिदै फेरिदै
अर्को शरद आइपुग्दा
बारीका कान्लाकान्ला, आँगनको डिल डिल
सयपत्री, मखमली ढकमक्क फुलेको
हावाको सुसेलीमा लहराउँदै पुष्पगुच्छाहरु
परदेशिएको कान्छोलाई
आउ ए कान्छा आउ भनी
गाउँभरि सुबास छरेर निम्तो दिइरहेको पल
म परदेशको तातो घाममा राँपिएर
खलखली पसिना चुहाएर, फलाम पग्लने तापमा
कोमल मनको कुनाकुना
गाउँवेशीको माया बोकेर
मखमली, सयपत्रीको निम्तोलाई
आँसुका ढिक्का ढिक्कामा तिलाञ्जली दिदै
मुटुलाई पत्थर भन्दा कठोर बनाउन बाध्य म
बैनीको भाइटिकामा घर पुग्न असमर्थ छु ।
अभावमा पिल्सिएको वास्तविकतालाई
निकास दिने अजङ्गको सपना साकार पार्ने
गुलिया मिठा मनलाई तानतुन पारेर
आशाको त्यान्द्रो मस्तिष्कमा अल्झाएर
सात समुद्रपारको यात्रा तय गर्न विवश म
भाइटिकासँगै गुञ्जिएका मादल, बाँसुरी, मुर्चुङ्गाको
सुरिलो र कर्णप्रिय धुनलाई
मनभित्र अनन्य सँगालेर
बैनीको हात खाली राख्न विवश म
र निरस मेरो जिन्दगी
तातो तावामा सेकाउन बाँध्य छु
रापिलो झिरमा उनेर ।
‍+++  +++  +++

लेखनकाल: २०७०।०६।११

प्रकाशित मिति: Monday, August 24, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।